ए बूढा, म त सक्दिन यसरी दिन दिनै तिम्री आमाको मलमूत्र सोहोर्न, तिम्री आमाले आज पनि ओछ्यानमै पौडी खेलिछिन् । एक दिन होईन दुई दिन होईन दिन दिनै । अरु दाई भाइ पनि छन् यो बूढीको हामीले मात्र ऋण खाएको हो र ? जीउनीको नाममा एक टुक्रा जग्गा छैन, सित्तैमा सेवा गर्नुपर्ने रे हामीलाई !
दिपककी श्रीमती दीपा एकोहोरो कड्किरहेकी थिई ।
तिमी धेरै बकबक नगर । मेरी जन्म दिने आमा हो वहाँ । तिमीलाई सेवा गर्न मन नलागे मै गरौँला ।
दिपकले अनुहार बिगार्दै भन्यो ।
ए ल ल, अब मलाई नै आँखी देख्न थाल्यौ होईन ? एक दिन गरेर हुन्छ ? मैले आफ्ना छोरा छोरीको स्याहार गर्नुपर्दैन ? कुन दिनमा यो घरमा बिहे गरेर फँस्न पुगेछुँ । कस्तो जिन्दगी कस्तो भयो मेरो ! अब मै निस्कन्छु यो घर देखि । तिमी आफ्नै प्यारो परिवार सँग बस्नू । दीपाका आँखाबाट आँशु झरिरहेका थिए ।
दिपक चाहिँ केहि नबोलेर आफ्नी आमा तिर हेर्दै टोलाएको थियो ।
दिन दिनैको कचकच सहन नसकेर आमा मध्यरातमा घर छोडेर हिड्ने निर्णय गरिन् । छोराको घर बिगारेर आफू त्यहाँ नबस्ने भनेर मुटु दह्रो बनाईन् । घर छाड्ने बेलामा कोठामा भएको छोरा, बुहारी र नाती नातीनीको तस्बिर चुमेर बलिन्द्र धारा आँशु झार्दै आमा बाहिर निस्किईन् ।
त्यो रातिको अँध्यारोमा उनलाई गोडाले जता जता लगे त्यतै गईन् । बेहोशीमा सडकको किनारामा पल्टिईन् ।
भोलि पल्ट आमाको बारेमा दिपकले चारैतिर खोजी गर्यो तर कतै भेट्न सकेन । आमा नभेटेपछि निराश हुँदै घर फर्क्यो । घर आउँदा श्रीमती दीपा हँसिली देखिएकी थिई । ऊ भन्दै थिई: कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाईदियो।” अब पनि आमालाई घरमा ल्याउने हो भने घरै नबस्ने फ़ैसला गरी दीपाले। दिपकले दीपाको शिरमा हात राखेर अब नखोज्ने कसम खायो ।
दुई तीन दिन पछि भाई दिनेशले आमालाई सडकमा भेटाएर घर लगी औषधि उपचार गरेछ । बुहारीले पनि नुहाई धुवाई गरी कपाल कोरिदिएर चिटिक्क पारिछिन् । नाती नातीनिहरु पनि हजुर आमा पाएर दंग भएछन् । पहिले आमाले पाएको दुख सम्झेर प्रायश्चित गरेछन् सबैले । आमाको मुहारमा खुशी फर्किएछ।
यता आफ्नी आमालाई भेट्न मात्रै गए पनि घर छोडेर जाने धम्की दीपाले दिएपछि दिपक सुटुक्क आमालाई भेट्न गईरहन्थ्यो । आमाको अगाडि उभिदा आफूलाई अपराधी जस्तै ठान्थ्यो दिपक ।
२ बर्ष पछि:
एकदिन दिपक घर आउँदा रातिको पौने नौ बजिसकेको थियो। घरको घन्टी बज्यो : टिंग टिंग टिंग…
घर आएर ढोकाबाट भित्र छिर्न नपाउदै श्रीमती दीपा रिसले भन्किई,
“कहाँ गएको हो र ? तिम्रो चाला त ठिक छैन नि ! फोन पनि स्वीच अफ थियो त ! घरमा परिवार छन् भन्ने पनि भुल्यौ कि क्या हो ? छोरालाई दिन भरि सन्चो छैन, अस्पत्ताल लगेर एक छिन अघि मात्र आईपुगेँ म । खाना पनि बनाएको छैन ।
दिपकको हातमा एउटा पुरानो प्लाष्टिकको झोला थियो जुन ह्वास्स गन्हाईरहेको थियो ।
दीपाले नाक थुनी अनि रिसाएर सोधी: के हो यो फेरि?
“आम…..आम……आमा…आ..मालाई लिन गएको थिएँ । आमा अब हामी संगै बस्नु हुन्छ । हामी हुँदा हुँदै आमा किन सडकमा बस्ने ? अब तिमीले जे भनेपनि म मान्ने वाला छैन । तिमीलाई बस्न मन नभए यो घर छाड्न सक्छौ । यो झोला आमाको हो । उता कोठामा लगेर राखिदेऊ त ! यस्मा वहाँका लत्ता कपडाहरु छन् ।” दिपकले पूरा दृढताका साथ भन्यो ।
दीपा रिसले मुर्मुराउदै कड्किहाली : दिमाग त ठिक छ तिम्रो ? किन फेरि यी बूढीलाई यहाँ ल्याउन पर्यो र ? तिम्रै दाजुभाइले हेरिहाल्छन् नि, तिम्रो मात्रै आमा हो र ? त्यसै माथि मैले माईतीबाट नल्याउने हो भने यो घरमा खान सम्म पुग्दैन । तिम्रो तलबले त मेरो एउटा गतिलो साड़ी पनि आउन्न , के फूर्ति लगाउँछौ र ? छोरा-छोरीलाई पढाउन र घर खर्च चलाउन त गाह्रो भैरहेको अवस्थामा अब यो बूढीलाई कसरी पाल्ने ?
त्यस्तो नभन, आफ्नी आमाको सेवा गर्नु त हाम्रो धर्म र कर्तव्य हो नि । यस्तो मौक़ा सबैले कहाँ पाउँछन् र ? फेरि पनि म आमालाई गुमाउन चाहन्न, अरु जे भन्छौ मान्छु तर यो कुरा म मान्दिन। ईज्जतमा एउटा दाग लाग्नु लागिसक्यो अब अर्को दाग लगाउन म चाहन्न ।
आफै बाच्न धौ-धौ परेको बेलामा म त सक्दिन । जहाँबाट ल्याएको हो त्यहिँ छोड्ने भए छोड हैन भने मै यो घर छोडिदिन्छु । दीपाले आफ्नो लुगाको सुटकेश निकाली र भनी : ल तिम्रो परिवार हाँसी खुशी बस्नू ।
श्रीमानले आमालाई गेट बाहिर उभ्याएका हुन्छन् दीपाले घर छाडेर गेट बाहिर जाँदा आफ्नै आमा देखी ।
आमालाई गम्लंग अंगालो हालेर ममी यो के हालत गराउनु भो आफूलाई ? के भो ? कस्ले के गर्यो ? किन यस्तो झुत्रे हुनु भएको भन्दै दीपा चिच्याउन थाली । हत्तनपत्त सुटकेश त्यहिँ छाडेर आमालाई लिएर भित्र आएर दिपक लाई भन्छे: अघि नै भन्न पर्दैन ? मेरो आमा हो भनेर ! बिचरा यो जाडोमा कति बेर बाहिरै हुनु भो आमा !
http://jasongoldwatch.com/wp-content/uploads/DSC_0449_3-800x531.jpg
दिपक : तिमीले मलाई बोल्ने मौका कहाँ दियौ र ? एकोहोरो आफू मात्रै बोलेको बोल्यै रह्यौ । तिम्रो दाई भाउजुले तिम्री आमालाई घरबाट निकाली दिएका रहेछन । आमा तीन दिन देखी सडकमा हुनुहुन्थ्यो रे ! मेरो साथीले भनेपछि मैले थाहा पाएर अफिस नगईकन आमालाई लिन गएको थिएँ ।
दीपाले मुस्कुराउँदै भनी : कत्ति जान्ने र बुझ्ने छौ है मेरो प्यारो डार्लिंग ! तिमीलाई धेरै धेरै धन्यवाद छ । ती असत्ती दाजु भाउजुहरुलाई मर्ने बेलामा स्याउँ स्याउँती कीरा परेको देख्न परोस् । दाह्रा किट्दै श्राप दिईरहेकी थिई दीपाले ।
सोफाको एक छेउँमा बसेर दीपकले आफ्नी आमालाई झल्झली सम्झेर कसैले नदेख्ने गरी दुई थोपा आँशु खसाल्यो ।
Comments